Sunday, November 28, 2010

रूसमा दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यास

कृष्णप्रकाश श्रेष्ठ । मास्को, २४ नोभेम्बर २०१० (मङ्गलवार) । नयाँ रूसमा स्थापित रसियाली राजकीय मानविकी विश्वविद्यालय (ररामावि) अन्तरगत मास्कोमा दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यास भएको छ । यस विश्वविद्यालयको विद्वत्परिषद् कक्षमा उक्त केन्द्रको उद्घाटन समारोहमा रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठान तथा मास्को राजकीय विश्वविद्यालयअन्तर्गत एशिया-अफ्रिका अनुसन्धान संस्थान लगायत मास्कोका विभिन्न अनुसंधान केन्द्रहरूका विद्वान्-विदुषीहरूका साथै दक्षिण एशिया (भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश तथा नेपाल) का विद्वान् तथा कूटनीतिज्ञहरू र रसियाली पत्रकार, कलाकार, जनप्रतिनिधि एवं शोधार्थीहरूको पनि समुपस्थिति रहेको थियो ।  

प्रसिद्ध भारतविद् सेर्गेइ सेरेभ्य्रान्नीद्वारा संचालन गरिएको अनुसन्धान केन्द्र उद्घाटन समारोहमा रसियाली राजकीय मानविकी विश्वविद्यालय कुलपति एफिम ओसिफोभिच पिओभारोभले दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै  समारोहमा उपस्थित  महानुभावहरूलाई सधन्यवाद हार्दिक स्वागत गर्नुका साथै सबैलाई आ-आफ्नो मन्तव्य प्रस्तुत गर्न आह्वान गर्नुभयो । सर्वप्रथम पाकिस्तानका राजदूत महोदयले दक्षिण एशियाको पुरानो र नयाँ रूपको अवधारणाबारे विस्तृत प्रकाश पार्दै वर्तमान समयमा दक्षिण एशियामा द्रुततर विकास भइरहेको परिप्रेक्ष्यमा नयाँ रूपान्तरणको प्रक्रिया चलिरहेको चर्चा गर्नुभयो र सार्कअन्तर्गतका सबै देशहरूका साथै अफगानिस्तानलाई पनि दक्षिण एशियाअन्तर्गत नै मानेर रूसका विद्वान्हरूद्वारा अनुसन्धान कार्यलाई अघि बढाउँदा यी देशहरूको बहुमुखी अध्ययनबाट सबै लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

भारतीय राजदूतावासअन्तर्गत जवाहरलाल नेहरू सांस्कृतिक केन्द्रका निर्देशकले प्राच्यविद्या संस्थानमा कार्यरत भारतवर्षअनुसन्धान केन्द्रको समेत सहभागितामा रूसमा भारतीय साहित्य, कला, संस्कृतिको प्रचार-प्रसारमा गरिने कार्यहरूको चर्चा गर्दै दुइ देशबीथ सांस्कृतिक आदानप्रदानको परिणामबारे बताउनुभएको थियो भने श्रीलङ्काका सांस्कृतिक सहचारीले दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाबाट पारस्परिक समझदारी बढ्ने विश्वास जनाउनुभएको थियो । समारोहमा उपस्थित अन्य विद्वान्-विदुषीहरूले पनि दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाको सन्दर्भमा सकारात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।

रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत भारतवर्षअनुसन्धान केन्द्रकी प्रमुख डा. तात्याना शाउम्यानले दक्षिण एशियाका मुलुकहरूको व्यापक अध्ययनका लागि मास्कोमा अर्को एउटा अनुसन्धान केन्द्रको शिलान्यास हुनु निकै महत्वपर्ण भएको उल्लेख गर्दै दुवै अनुसन्धान केन्द्रहरूले हातेमालो गर्दै यी देशहरूको गहन अध्ययन गर्ने सम्भावना पाइने कुरा जनाउनुभयो ।

रेडियो रूसको दक्षिण एशिया विभागकी प्रमुख इरीना माक्सिमेन्कोले रेडियो प्रसारणबाट  दक्षिण एशियाका देशहरूमा रहेका श्रोताहरूले रूसको बारेमा पर्याप्त जानकारी हासिल गर्दै आएको जनाउनुका साथै हाल रूसबाट हिन्दी, उर्दु र बंगालीमा प्रसारण जारी रहेको जानकारी दिनुभयो र रूसबाट विदेशी भाषामा रेडियो प्रसारणको ८० वर्षको सन्दर्भमा प्रकाशित अल्बम उपहार प्रदान गर्नुभयो ।

नेपालको प्रतिनिधित्व गर्दै बोल्ने मौका पाउने यस पंक्तिकारबाट पनि दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यास समारोहमा उपस्थित हुने सुअवसर प्राप्त भएकोमा हर्ष व्यक्त गर्नुका साथै प्राच्यविद्या संस्थानको सक्रियतामा नेपाली राजदूतावासमा अक्टोबरको अन्त्यतिर नेपाल, भारत, श्रीलङ्का र बर्माको यात्रा गर्ने रूसी प्राच्यविद् इभान मिनाएभको १७०-यौं जन्मजयन्तीको उपलक्ष्यमा काव्यात्मक वैज्ञानिक सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै भर्खरै अस्तित्वमा आएको दक्षिण एशिया अनुसन्धान केन्द्रको क्रियाकलापबाट हाम्रा देशहरूबीच समझदारी र मैत्री सम्बन्धको विकासमा ठूलो योगदान पुग्ने कुरामा जोड दिइएको थियो र पछिल्लो समयमा मास्कोबाट प्रकाशित नेपालविषयक केही पुस्तकहरू पनि ररामाविअन्तर्गत दक्षिण एशिया अनुसन्धान केन्द्रका लागि  उपहारस्वरूप हस्तान्तरण गरिएको थियो ।
समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् रसियाली कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा भारतीय नृत्यलगायत विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
रूसको राजधानीमा रसियाली राजकीय मानविकी विश्वविद्यालयअर्न्तर्गत दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाबाट नेपाललगायत सार्कका देशहरूको भाषा, साहित्य, धर्म, जनजीवन, अर्थतन्त्र, संस्कृति, कलाको व्यापक अध्ययनबाट प्रकाशमा आउने कृतिहरूले रसियालीहरूलाई नेपाललगायत दक्षिण एशियाका मुलुकहरूको बारेमा राम्रो बोध गराउनुका साथै पारस्परिक समझदारी र मैत्री सम्बन्धको विकासमा गहकिलो योगदान पुग्न जाने कुरा निर्विवाद छ ।

मास्कोमा दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यासको एक प्रत्यक्ष्यदर्शीको हैसियतले रूसमा रहेका नेपालीहरूको तर्फबाट यो पंक्तिकार रसियाली विद्वान्-विदुषीहरूलाई नेपालको पनि गहन अध्ययन-अनुसन्धानमा सफलता प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछ ।
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment